• Menu

डोल्पाको जगदुल्लामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, चालकसहित १३ घाइते

नेपाल प्रफिट

२०८३ असार २१, १७:०४

डोल्पाको जगदुल्लामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, चालकसहित १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।

दिउँसो करिब १ः५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १४ जना सवार रहेकोमा अन्य १३ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स पनि जुम्लाबाट घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।

प्रहरीका अनुसार घाइतेहरूको पहिचान र दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ ।