• Menu

जनकपुरमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन

नेपाल प्रफिट

२०८१ जेठ २०, १५:२२

जनकपुरमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन

धनुषा । जनकपुरको रामानन्द चोकमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले शनिबार एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै उनले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकलाई सेवाका लागि थप सहज हुने बताए । उनले सामाजिक सुरक्षा योजनाको महत्व स्पष्ट पार्दै यो कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे ।

सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो–कस्तो लाभ पाउन सकिन्छ ? भन्ने जस्ता विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीलाई उनले आग्रह गरे । योजनामा ढुक्कसँग सहभागी हुन सेवाग्राहीलाई मन्त्री अर्यालले अनुरोध गरे ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार यो कार्यालयबाट मधेस प्रदेशको धनुषा, सप्तरी, सिरहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकलाई सेवा लिन सहज हुनेछ ।

‘यी चारबाहेक अन्य जिल्लाका रोजगारदाता र योगदानकर्ताले पनि यो कार्यालयबाट सेवा लिन सक्नुहुन्छ,’ उनले भने, ‘चार जिल्लाका सेवाग्राहीलाई सहज हुन्छ भन्ने हामीलाई लागेको हो ।’