• Menu

पर्यटक आगमनमा उच्च वृद्धि, एकै महिनामा ९० हजार विदेशीले गरे नेपाल भ्रमण

नेपाल प्रफिट

२०८१ जेठ २०, १५:१४

पर्यटक आगमनमा उच्च वृद्धि, एकै महिनामा ९० हजार विदेशीले गरे नेपाल भ्रमण

काठमाडौँ ।  सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार ३ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । ‘समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै संख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्,’ उनले भने ।

विगतका महिनामा झैँ यसपटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार ३८१ पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।