
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत् समूहको उद्यमशीलता तथा भेन्चर विकास पहल ‘बृहतप्रेन्योर्स’बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्धनका लागि दुई वर्षे सहकार्य सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाड्यो र बृहत्प्रेन्योर्सका संस्थापक एवं बृहत् समूहका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेढेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवर्धन, नवउद्यम तथा स्टार्टअपको विकास, व्यावसायिक सञ्जाल विस्तार, मार्गदर्शन, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।
नेपाल चेम्बर अफ कमर्सले देशका पाँच स्थानमा उद्यमी तथा व्यवसायीलाई लक्षित जनचेतना र पहुँच विस्तार कार्यक्रम सञ्चालन गर्नेछ। साथै, नवौं नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोका अवसरमा विशेष उद्यमशीलता कार्यक्रमसमेत आयोजना गरिनेछ।
बृहतप्रेन्योर्सले सहभागी उद्यमीका लागि अभिमुखीकरण, व्यवसाय विकास तालिम, व्यवसाय परामर्श, इन्क्युबेसन, मार्गदर्शन, सञ्जालीकरण तथा भेन्चर सहयोग कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै सदस्यता, साझेदारी, सहकार्यस्थल सुविधा तथा व्यवसाय विस्तारका अवसरसमेत उपलब्ध गराइनेछ।
सम्झौताअनुसार दुई वर्षको अवधिमा कम्तीमा ६ वटा उद्यमशीलता तथा सञ्जालीकरण कार्यक्रम आयोजना गरी तीन सयभन्दा बढी उद्यमी, नवउद्यम तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ। सहकार्यमा नेपाल चेम्बर अफ कमर्सको युवा समितिको समेत सहभागिता रहने उल्लेख गरिएको छ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यले उद्यमशीलता विकास, लगानी प्रवर्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले उद्यमी, नवप्रवर्तक, स्टार्टअप र लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने बृहत्प्रेन्योर्सको पहल समयानुकूल रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सहकार्यबाट रोजगारी सिर्जना, नवप्रवर्तन र आर्थिक गतिविधि थप सुदृढ हुने बताए।
बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत् समूहका कार्यकारी अध्यक्ष डा. ओम राजभण्डारीले नेपालमा उद्यमशीलताको नयाँ संस्कृति विकासका लागि ‘विचार मात्र होइन, कार्यान्वयन’मा जोड दिनुपर्ने बताए । उनले बृहतप्रेन्योर्सलाई उद्यमी, विज्ञ, व्यवसायी र लगानीकर्तालाई जोड्ने भेन्चर निर्माण प्रणालीका रूपमा विकास गरिएको उल्लेख गर्दै सहकार्य, संरचना, मार्गदर्शन र साझा स्रोतमार्फत दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणमा संस्थाले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, युवा समितिका सभापति दीपेशरत्न तुलाधरलगायतको उपस्थिति थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal