• Menu

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच सम्झौता, बैंकका ग्राहकलाई फिल्मको टिकटमा १० प्रतिशत छुट

नेपाल प्रफिट

२०८३ असार १६, १७:१७

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच सम्झौता, बैंकका ग्राहकलाई फिल्मको टिकटमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

मंगलबार सम्पन्न सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार यस सहकार्यबाट ग्राहकले प्रत्यक्ष लाभ लिनुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न उत्प्रेरित गर्ने उद्देश्यले समय-समयमा यस्ता ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

सिटिजन्स बैंकले हालै अन्तर्राष्ट्रिय स्तरको ‘वर्षको उत्कृष्ट बैंक-२०२४’ र ‘वर्षको उत्कृष्ट बैंक-२०२५’ उपाधि प्राप्त गरेको जनाएको छ। यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (आभासी कर्जा कार्ड) सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी बैंकले युवामुखी ‘सिटिजन्स जेन-जी बचत खाता’, ‘सिटिजन्स डिजिटल बैंक सेवा’ नामक एकीकृत अनलाइन मञ्च तथा स्वतन्त्र रूपमा सेवा प्रदान गर्ने व्यक्तिलाई लक्षित ‘फ्रिलान्सर बचत खाता’ समेत सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ अनुप्रयोगमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

यसका अतिरिक्त, अन्तरबैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट क्यूआर संकेत स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था बैंकले सुरु गरेको जनाएको छ ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६८ स्वचालित नगद मेसिन, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।