
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘सिटिजन्स सदाबहार योजना’मा अब डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरेको छ।
बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सञ्चालन गरेको उक्त योजनामा ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, मोबाइल बैंकिङ तथा डिजिटल बैंक सेवा प्रयोग गरी सिधै आवेदन दर्ता गर्न सक्नेछन्। यसबाट लगानी प्रक्रिया सरल, छिटो र सुरक्षित हुने तथा ग्राहकले आफ्ना वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने बैंकको विश्वास छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गरिसकेको बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ। यसअघि बैंकले नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा भर्चुअल ऋणपत्र सञ्चालनमा ल्याएको थियो।
त्यसैगरी बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन-जी बचत खाता’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन सेवा तथा स्वतन्त्र रूपमा काम गर्ने सेवाग्राहीका लागि ‘फ्रिलान्सर बचत खाता’ सञ्चालनमा ल्याइसकेको छ।
बैंकले मोबाइल बैंकिङ अनुप्रयोगमार्फत नै शेयर आवेदन र ग्राहक परिचय नम्बर (सीआरएन) सेवा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। साथै, अन्तरबैंक नगद भुक्तानी सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा द्रुत प्रतिक्रिया संकेत (क्यूआर) स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ स्वचालित नगद मेसिन, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal