• Menu
s

एनआईसी एशिया बैंकका सेयरधनीले २ कित्ता बराबर १ कित्ता हकप्रद पाउने, सम्झौतापत्रमा हस्ताक्षर

नेपाल प्रफिट

२०८३ असार ९, १७:३०

एनआईसी एशिया बैंकका सेयरधनीले २ कित्ता बराबर १ कित्ता हकप्रद पाउने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको आधारमा २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो। यसअनुसार हालका सेयरधनीले स्वामित्वमा रहेको प्रत्येक दुई कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ हकप्रद सेयर प्राप्त गर्नेछन् ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ। यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।

बैंकका अनुसार हकप्रद सेयरबाट प्राप्त रकम पूँजी संरचना थप सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यावसायिक विस्तार र रणनीतिक योजनाको कार्यान्वयनमा उपयोग गरिनेछ ।

हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा भएपछि बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार