• Menu
s

आइएमई र प्रकाश सपुतबीच सहकार्य, स्वदेश र विदेशमा रहेका नेपालीलाई संगीतमार्फत जोड्ने लक्ष्य

नेपाल प्रफिट

२०८३ असार ८, ११:५८

आइएमई र प्रकाश सपुतबीच सहकार्य, स्वदेश र विदेशमा रहेका नेपालीलाई संगीतमार्फत जोड्ने लक्ष्य

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो सांगीतिक दूत नियुक्त गरेको छ। कम्पनीले बिहीबार आयोजित एक कार्यक्रममा सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो।

रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सपुतलाई सांगीतिक दूतका रूपमा आबद्ध गरिएको कम्पनीले जनाएको छ ।

मौलिक लोकसंगीत र सामाजिक चेतनामूलक सिर्जनामार्फत नेपाली समाजमा विशेष लोकप्रियता हासिल गरेका सपुतका गीत गाउँदेखि सहर र स्वदेशदेखि विदेशमा रहेका नेपालीमाझ उत्तिकै रुचाइने गरेका छन्। विशेषगरी वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूको भावना र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत अभिव्यक्त गर्दै आएका छन्।

आइएमईका महाप्रबन्धक बद्री कटवालले प्रकाश सपुतका सिर्जनाले समाजको यथार्थ चित्रण गर्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले कम्पनीको अभियानलाई थप आत्मीय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले संगीत स्वदेश र विदेशबीचको दूरी घटाउने सशक्त माध्यम भएको उल्लेख गर्दै प्रवासी नेपाली श्रमिकहरूका लागि यसले भावनात्मक सहारा प्रदान गर्ने बताए।

कार्यक्रममा प्रकाश सपुतले आइएमईजस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई संगीतमार्फत आफ्नो माटोसँग जोडिराख्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका अनुसार सपुतको सहभागिताले रेमिट्यान्सको महत्व तथा देशको अर्थतन्त्र र समाजमा यसको योगदानबारे जनचेतना अभिवृद्धि गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।