• Menu
s

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल प्रफिट

२०८३ असार ५, शुक्रबार १३:२७

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका-२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि आवश्यक सहयोग प्रदान गरेको छ।

बैंकको बेनी शाखामार्फत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा खानेपानी आपूर्तिका लागि आवश्यक पाइप हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

उक्त स्वास्थ्य चौकीले वडा नम्बर १ र २ का चार हजार तीन सयभन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय समुदाय, विशेषगरी विपन्न र सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस सहयोगबाट स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रममार्फत संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने जनाएको छ।

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटिएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।