• Menu

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ जेठ १६, बुधबार १५:३१

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छ : प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।

चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहमा बुधबार प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए ।

‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ उनले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’

उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले संघीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जिकिर गरे ।

‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्थामात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको उनको दाबी छ । ‘देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुन्छ ।’

शारीरिक तथा मानसिक रूपमा सबल, सक्षम र स्वस्थ नागरिकको प्रयत्नबाट मात्रै कतिपय देश हरेक क्षेत्रमा फड्को मार्न सफल भएको उनले बताए ।