• Menu
s

चितवनमा धान ‘जोन’को क्षेत्रफल बढ्यो, गत वर्षको तुलनामा यस वर्ष ८ हजार ९०० हेक्टरमा खेती

नेपाल प्रफिट

२०८३ असार १५, १३:२३

चितवनमा धान ‘जोन’को क्षेत्रफल बढ्यो, गत वर्षको तुलनामा यस वर्ष ८ हजार ९०० हेक्टरमा खेती

चितवन । चितवन जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो ।

एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ ।

जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो । गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कार्यालयले धान जोनका लागि ११ वटा धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा हाल पाँचदेखि सात प्रतिशत धान रोपाइँ भएको छ ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार गत वर्ष यो समयमा १० देखि १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको थियो । धान रोप्न पुग्ने गरी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको उनले बताए । धेरै क्षेत्रफलमा धान रोपाइँको तयारी गरिएको भन्दै उनले अब चाँडै किसना धान रोप्न लाग्ने बताए ।