काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारसहित आज मंगलबार दिउँसो आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै छन् ।
अर्थव्यवस्थामा छाएको सुस्तता हटाउने खालको बजेटको तयारीमा जुटेका मन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारको नीति लिने भएका हुन् । त्यसका लागि उच्चस्तरीय आयोग या कार्यदल बनाउने अर्थमन्त्रीको तयारी छ ।
स्रोत अभावका बीच करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउन लागेका मन्त्री पुनले प्रविधिले सुसज्जित गुणस्तरीय पूर्वाधार र आर्थिक करिडोरमा जोड दिने भएका छन् ।
उनले नयाँ ग्रोथ इन्जिनका रुपमा हरित र डिजिटल इकोनोमी विस्तारलाई बजेटमा उच्च प्राथमिकता दिने जनाइएका छ । अर्थमन्त्रीले बजेटमा उत्पादनमूलक उद्योग, स्टार्टअप र सूचना प्रविधिमूलक उद्योगलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका हुन् ।
कोभिड १९ महामारी, रुस–युक्रेन युद्धका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायनमान बनाउन विशेष प्याकेजसहितको कार्यक्रम बजेटमा समेट्ने उनको तयारी छ ।
अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउन लगानी कानुन, कर तथा राजस्व नीतिमा पनि उल्लेख्य सुधार गर्ने भएका छन् । त्यस्तै वित्तीय क्षेत्र सुधारमा पनि विशेष कदम चाल्ने उनले बताएका छन् । कर्जा विस्तार सुस्त भएका बेला बैंक वित्तीय संस्थाको कर्जाको माग बढ्ने गरी बजेटमार्फत विशेष नीति लिने उनको तयारी छ ।
नेपालको संविधानअनुसार आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) हरेक वर्षको जेठ १५ गते सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री पुनले आगामी आवको बजेट प्रस्तुत गर्नेछन् ।
त्यसका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख देवराज घिमिरेले आइतबार नै आग्रह गरिसकेका छन् ।
दोस्रोपटक अर्थमन्त्री बनेका पुनले पहिलो पटक बजेट पढ्न लागेका हुन् । यसअघि संविधानसभा म्याद थप नभई विघटन हुँदा उनले बजेट सार्वजनिक गर्न पाएका थिएनन् ।