काठमाडौँ । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ ।
सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिरसहित अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपिठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।
उक्त रिट निवेदनमाथि जेठ १६ गते सुनुवाइका लागि पेसी तोकिएको छ । रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र ‘लामिछानेविरुद्ध कुनै मुद्दा छैन’ भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरिएको छ ।