काठमाडौँ । सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा उच्च वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा एकै वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको हो ।
गत फागुनसम्म राज्यबाट भत्ता लिनेको संख्या ३८ लाख २७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्या ३७ लाख ६ हजार ३२७ थियो । भत्ता लिनेमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५१६ छ ।
६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २७०, विधवा महिला ५ लाख ७६ हजार ५५३, पूर्ण अपांगता भएका ६६ हजार ४५२, अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १७६, लोपोन्मुख जाति २२ हजार २४७ र तोकिएका क्षेत्रका ६० वर्ष कटेका ज्येष्ठ नागरिक १६ हजार ८४४ छन् ।
हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो ।
सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कुल बजेटको १४.७८ प्रतिशत, चालु बजेटको २२.६७ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा कुल बजेटको ८.१७ प्रतिशतमात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।