काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बिमा कम्पनीका लगानीकर्ताको छाता संगठन नेपाल निर्जीवन बिमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।
संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफूलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ता जस्तै सञ्चालकहरुसमेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको सेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ ।
भारत लगायतका अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको छ ।
भेटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।