• Menu
s

सगरमाथाको फोहोर व्यवस्थापन गर्न बीवाइडी च्यारिटी फाउन्डेसन र एसपीसीसीबीच साझेदारी

नेपाल प्रफिट

२०८३ जेठ २४, १३:५२

सगरमाथाको फोहोर व्यवस्थापन गर्न बीवाइडी च्यारिटी फाउन्डेसन र एसपीसीसीबीच साझेदारी

काठमाडौं ।  विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिसाईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन ले सगरमाथा क्षेत्रको वातावरण संरक्षण तथा दिगो विकासका लागि आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका छन्। ‘एभरेष्ट १ इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दीर्घकालीन साझेदारीलाई निरन्तरता दिएका हुन् ।

बीवाइडीको ‘कूल द अर्थ बाई १° सेल्सियस’ अवधारणाबाट प्रेरित फाउन्डेसनले सन् २०२५ देखि एसपीसीसीसँग सहकार्य गर्दै आएको छ। यस पहलको मुख्य उद्देश्य सगरमाथा तथा खुम्बु क्षेत्रमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय चुनौतीहरूको दीर्घकालीन समाधान खोज्नु रहेको छ ।

विभिन्न अध्ययनअनुसार सगरमाथा क्षेत्रमा अझै ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर रहेको अनुमान छ। यसले हिमनदी, जलस्रोत र स्थानीय समुदायमा प्रत्यक्ष असर पारिरहेको छ ।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल भएको छ। सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलोपटक क्याम्प-२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्डको पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यस वर्ष सगरमाथा, ल्होत्सेनुप्त्से मा कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । आरोहण सिजनभर एसपीसीसीले क्याम्प-३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर संकलन गरेको जनाएको छ। साथै २१० वटा ईपीआई ग्यास क्यानिस्टर र १ हजार ७६९ वटा मानव फोहोर व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ ।

त्यस्तै, खुम्बु आइसफल प्रवेशद्वारस्थित चेकपोइन्टमार्फत क्याम्प-२ बाट मात्रै ६ हजार ५२२ किलोग्राम फोहोर संकलन गरिएको छ। संकलित फोहोरमा टिन तथा क्यान, भान्साजन्य फोहोर, कागज, प्लास्टिक, टेन्ट तथा कपडा र डोरी समावेश रहेका छन् ।

एसपीसीसीका अनुसार सन् २०२६ को आरोहण सिजनले संस्थाका लागि बहुआयामिक उपलब्धि दिलाएको छ। क्याम्प-२ मा पहिलो मौसमी कार्यालय सञ्चालनमा आउनुका साथै फोहोर व्यवस्थापनतर्फ उल्लेखनीय सफलता हासिल भएको छ ।

आगामी वर्षहरूमा दुवै संस्थाले सगरमाथा क्षेत्रमा थप दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने योजना अघि बढाएका छन्। यसअन्तर्गत वातावरणीय अभिमुखीकरण कार्यक्रम, मानव फोहोर व्यवस्थापन प्रणाली विस्तार, उच्च शिविरहरूमा विशेष फोहोर संकलन केन्द्र स्थापना तथा ड्रोनमार्फत फोहोर ढुवानी प्रणाली विस्तार गरिनेछ।

यस साझेदारीअन्तर्गत सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिज सँगको सहकार्यलाई पनि निरन्तरता दिइएको छ। परीक्षण चरणमा क्याम्प-१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक ढुवानी गरिएको थियो, जसले हिमाली क्षेत्रमा प्रविधिमैत्री फोहोर व्यवस्थापनको सम्भावना देखाएको छ ।

स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सीबीसीएफले एभरेष्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको छ। यसले दुर्गम हिमाली क्षेत्रमा स्वच्छ तथा भरपर्दो ऊर्जा उपलब्ध गराउँदै परम्परागत इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याइरहेको छ ।

‘एभरेष्ट १° इनिसियटिभ’ लाई तीन चरणमा कार्यान्वयन गर्ने योजना बनाइएको छ। सन् २०२६ मा प्रारम्भिक संरचना निर्माण र रेन्जर परिचालन, सन् २०२७ मा फोहोर व्यवस्थापन पूर्वाधार विस्तार तथा सन् २०२८ मा आत्मनिर्भर वित्तीय मोडेलसहित दिगोपन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

सन् १९९१ मा स्थापना भएको एसपीसीसी शेर्पा समुदायको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था हो। यसले सगरमाथा क्षेत्रभित्र वातावरण संरक्षण, फोहोर व्यवस्थापन, आरोही सुरक्षा तथा दिगो विकासका क्षेत्रमा कार्य गर्दै आएको छ । सन् २०२४ मा स्थापना भएको सीबीसीएफले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।