• Menu
s

प्रोटोनको विद्युतीय सवारी बिक्रीमा ३९८ प्रतिशतको छलाङ, उत्पादन क्षमता बढाउन ३७ मिलियन लगानी गर्ने

नेपाल प्रफिट

२०८३ जेठ २२, शुक्रबार १६:४१

प्रोटोनको विद्युतीय सवारी बिक्रीमा ३९८ प्रतिशतको छलाङ, उत्पादन क्षमता बढाउन ३७ मिलियन लगानी गर्ने

काठमाडौं । नेपालमा प्रोटोनको विद्युतीय सवारी ‘ई.मास ७’ को सफल सुरुवातपछि कम्पनीले आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्ने तयारीलाई तीव्रता दिएको छ। प्रोटोन सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार नेपाली बजारबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले कम्पनीलाई थप नयाँ मोडल ल्याउन प्रेरित गरेको हो।

मलेसियामा प्रोटोनका विद्युतीय सवारीको बिक्री उल्लेखनीय रूपमा बढिरहेको छ। सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा कम्पनीको विद्युतीय सवारी बिक्रीमा ३९८ प्रतिशत वृद्धि भएको छ भने चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई सवारी हस्तान्तरण गरिएको छ।

बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले आफ्नो विद्युतीय सवारी उत्पादन केन्द्र विस्तारका लागि ३७ मिलियन मलेसियाली रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ। यससँगै कम्पनीले वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी वृद्धि गरी ४२ हजार एकाइ पुर्‍याउने लक्ष्य राखेको छ।

जगदम्बा मोटर्सका प्रतिनिधिका अनुसार नेपालमा ‘ई.मास ७’ ले अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेको र गुणस्तरीय विकल्प खोजिरहेको संकेत यसले दिएको कम्पनीको भनाइ छ।

हाल नेपाली ग्राहकले १६० किलोवाट क्षमताको मोटरयुक्त प्रिमियम विद्युतीय सवारी ‘ई.मास ७’ प्रयोग गरिरहेका छन्। यो सवारीले एकपटक पूर्ण चार्ज गर्दा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। सवारीमा ३६० डिग्री दृश्य प्रणाली, उन्नत ध्वनि प्रणाली, आधुनिक चालक सहायता प्रविधि तथा अत्याधुनिक सुरक्षा र सम्पर्क सुविधा समावेश गरिएको छ।

हाल ‘ई.मास ७’ खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क घरायसी चार्जर, आठ वर्षको वारेन्टी तथा नगद छुटलगायत विशेष सुविधा प्राप्त गरिरहेका छन्।

यसैबीच, जगदम्बा मोटर्सले निकट भविष्यमा ‘ई.मास ५’ लाई पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ‘ई.मास ५’ विशेषगरी शहरी जीवनशैली र नयाँ पुस्तालाई लक्षित गरी विकास गरिएको मोडल हो।

जगदम्बा मोटर्सले प्रोटोनका अतिरिक्त टीभीएसका दुईपाङ्ग्रे सवारी, चेरी वान्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमईभीका विद्युतीय सवारीको समेत नेपालमा आधिकारिक वितरण गर्दै आएको छ। कम्पनीले नेपालमा विद्युतीय गतिशीलता क्षेत्रको विस्तारमा अग्रणी भूमिका खेल्दै आएको दाबी गरेको छ।