नेपाल प्रफिट
२०८३ जेठ २२, शुक्रबार १६:०४
काठमाडौं । बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले हालै आयात गरिएका विद्युतीय सवारीसाधन सम्बन्धमा उठेका विभिन्न प्रश्न र आरोपबारे तथ्यगत स्पष्टिकरण दिएको छ। कम्पनीले सबै सवारीसाधन प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार आयात तथा जाँचपास गरिएको जनाएको छ ।
कम्पनीका अनुसार बजेट सार्वजनिक हुनुअघि कोरला र रसुवा नाकामार्फत कुल १ हजार १२१ वटा बीवाईडी सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास सम्पन्न भएका छन्। तीमध्ये कोरला नाकाबाट ६४९ तथा रसुवा नाकाबाट ४७२ वटा सवारीसाधन आयात गरिएको कम्पनीले जानकारी दिएको छ ।
साइमेक्सले थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगेको भए पनि हालसम्म जाँचपास प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ ।
कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ । ‘हामीले कुनै सरकारी निकायसँग कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालका छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साइमेक्सका अनुसार आयात गरिएका सवारीसाधन ग्राहकबाट पूर्वबुकिङ भइसकेका अर्डर पूरा गर्न तथा नेपालमा बढ्दो विद्युतीय सवारीको माग सम्बोधन गर्न ल्याइएको हो । आयात प्रक्रिया बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा नियमित व्यावसायिक योजनाअनुसार सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले आवश्यक परे कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ। सत्यतथ्य स्थापित गर्न आयात अभिलेख, भन्सार घोषणा विवरण, ढुवानी कागजात, भुक्तानी विवरण तथा जाँचपाससम्बन्धी सम्पूर्ण दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको कम्पनीले जनाएको छ ।
सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आधिकारिक तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै कम्पनीले भ्रमपूर्ण सामग्रीले कानुनसम्मत रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा क्षति पुग्न सक्ने बताएको छ ।
साइमेक्स इंकले विद्युतीय सवारी क्षेत्रले नेपालको वातावरणीय लक्ष्य, इन्धन आयात न्यूनीकरण तथा दिगो यातायात विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित सार्वजनिक बहस र जिम्मेवार समाचार सम्प्रेषणको आवश्यकता औँल्याएको छ ।
कम्पनीले आफू इमान्दारिता, पारदर्शिता, कानुनको पालना तथा जवाफदेहिताप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै सम्बन्धित निकायबाट भइरहेको अध्ययन तथा समीक्षाले वास्तविकता स्पष्ट पार्ने विश्वास व्यक्त गरेको छ ।