काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण ‘साओमी ट्याग’ र ‘रेड्मी हेडफोन नियो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यी उपकरणहरू प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट, सहज र सुरक्षित बनाउन लक्षित छन् ।
हराएको सामान खोज्न उपयोगी साओमी ट्याग
केवल १० ग्राम तौल भएको ‘साओमी ट्याग’ चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामान ट्र्याक गर्न उपयोगी उपकरण हो । विशेष ट्र्याकिङ एपमार्फत विभिन्न उपकरणसँग जडान गर्न सकिने यस ट्यागले हराएको सामानको स्थान सजिलै पत्ता लगाउन सहयोग गर्छ ।
यसमा ‘लस्ट मोड’ सुविधा रहेको छ । सामान हराएपछि उक्त मोड सक्रिय गर्दा सामान फेला पार्ने व्यक्तिले मालिकको सम्पर्क विवरण देख्न सक्ने भएकाले सामान फिर्ता पाउन सहज हुने कम्पनीले जनाएको छ । साथै, अपरिचित स्थानमा पुगेको अवस्थामा सूचना प्राप्त हुने सुविधा पनि उपलब्ध छ ।
प्रयोगकर्ताले बारम्बार जाने स्थानहरू पूर्वनिर्धारित रूपमा सेट गर्न सक्ने भएकाले अनावश्यक सूचना आउने समस्या कम हुने बताइएको छ । सुरक्षा दृष्टिले यसमा सांकेतिक रूपमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङ चेतावनी प्रणाली तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्रीको सुविधा रहेको छ ।
आईपी ६७ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले घाम, पानी, धुलो तथा सामान्य झट्का सहजै सहन सक्ने कम्पनीको दाबी छ । हराएको सामान खोजीलाई अझ प्रभावकारी बनाउन यसलाई अन्य व्यक्तिसँग पनि जडान गर्न सकिने सुविधा रहेको छ ।
७२ घण्टासम्म ब्याट्री टिक्ने रेड्मी हेडफोन नियो
त्यसैगरी, ‘रेड्मी हेडफोन नियो’ ले प्रयोगकर्तालाई गहिरो र अवरोधरहित अडियो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ४२ डेसिबलसम्मको अनुकूलनशील सक्रिय ध्वनि नियन्त्रण (एएनसी) सुविधा रहेको छ, जसले बाहिरी अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्छ ।
४० मिलिमिटरको गतिशील ड्राइभरयुक्त यस हेडफोनले गहिरो बास र स्पष्ट ध्वनि अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । साथै, उच्च गुणस्तरको तारयुक्त अडियो सपोर्टले ध्वनिलाई अझ स्पष्ट र समृद्ध बनाउने उल्लेख गरिएको छ ।
पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म चार्ज नगरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहित तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउने बताइएको छ ।
मूल्य र उपलब्धता
‘रेड्मी हेडफोन नियो’ कालो र स्यान्ड ह्वाइट रंगमा उपलब्ध रहेको छ । यसको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, ‘साओमी ट्याग’ को मूल्य २ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।