• Menu
s

स्पेसएक्सको आईपीओ आउँदै, मस्क बन्न सक्छन् विश्वकै पहिलो खर्बपति

नेपाल प्रफिट

२०८३ जेठ ८, शुक्रबार १०:५७

स्पेसएक्सको आईपीओ आउँदै, मस्क बन्न सक्छन् विश्वकै पहिलो खर्बपति

काठमाडौं । एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यो प्रक्रिया सफल भए इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन हुन सक्छ।

आईपीओपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलर नाघ्न सक्ने विश्लेषण गरिएको छ । फोर्ब्सका अनुसार हाल मस्क ८०७ अर्ब डलर सम्पत्तिसहित संसारकै धनी व्यक्ति हुन् । स्पेसएक्सले ‘एसपीसीएक्स’ संकेत चिह्नअन्तर्गत सूचीकरणको योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो मूल्यांकन १.२५ खर्ब डलर गरेको छ । यसका आधारमा स्पेसएक्समा रहेको मस्कको बहुमत हिस्साको मूल्य ६०० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान छ । यही मूल्य हालको सम्पत्तिमा जोडिँदा मस्क संसारकै पहिलो खर्बपति बन्न सक्ने चर्चा बढेको हो ।

मस्क गत वर्ष ५०० अर्ब डलर सम्पत्ति पार गर्ने पहिलो व्यक्ति बनेका थिए । उनी विद्युतीय सवारी निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । स्पेसएक्समा साधारण र विशेष श्रेणीका सेयरमार्फत मस्कसँग ८५.१ प्रतिशत मतदान अधिकार रहेको छ ।

आईपीओसम्बन्धी कागजातमार्फत कम्पनीको नेतृत्व संरचना पनि सार्वजनिक भएको छ । मस्क अध्यक्ष छन् भने ग्विन सटवेल प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । कम्पनीको बोर्डमा प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसनसहित र्यान्डी ग्लेन, स्टिभ जर्भिटसन, लुक नोजेक, इरा एहरेनप्रेइस, एन्टोनियो ग्रासियस र गुगलका अधिकारी डोनाल्ड ह्यारिसन छन् ।

मस्कले सन् २०१९ देखि वार्षिक ५४ हजार ८० डलर निश्चित तलब लिँदै आएका छन् । कम्पनीले उनलाई ६ करोड ६६ लाखभन्दा बढी शेयर दिने सम्भावनासहितको विशेष सुविधा पनि प्रस्ताव गरेको छ । त्यसका लागि कम्पनीको मूल्यांकन ७.५ खर्ब डलर पुग्नुपर्ने र मंगल ग्रहमा कम्तीमा १० लाख मानिससहित स्थायी मानव बस्ती स्थापना हुनुपर्ने शर्त राखिएको छ ।

यसैबीच, कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईसँगको एकीकरणपछि मस्कका लागि ३० करोड २० लाख शेयर बराबरको नयाँ सुविधा घोषणा गरिएको छ । यो सुविधा कम्पनीको भविष्यको मूल्यांकन र उच्च क्षमताका तथ्यांक केन्द्र सञ्चालनसँग जोडिएको छ ।

मस्कले सन् २००२ मा स्पेसएक्स स्थापना गरेका थिए । कम्पनीले सन् २०२१ मा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्दै दूरसञ्चार क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको थियो ।

स्पेसएक्सले आफ्नो दीर्घकालीन लक्ष्य कृत्रिम बौद्धिकता, उपग्रह सञ्चार र अन्तरिक्ष अनुसन्धानमा केन्द्रित रहेको जनाएको छ । कम्पनीले जीवनलाई बहुग्रहीय बनाउने, चन्द्रमामा आधार केन्द्र निर्माण गर्ने तथा अन्य ग्रहमा शहर बसाउने योजना अघि सारेको छ ।

कम्पनीका अनुसार सम्भावित बजार अवसर २८.५ खर्ब डलर बराबर रहेको छ । यसमध्ये अन्तरिक्ष सेवामा ३७० अर्ब डलर, सञ्चार सेवामा १.६ खर्ब डलर र कृत्रिम बौद्धिकतामा २६.५ खर्ब डलरको अवसर रहेको दाबी गरिएको छ ।

स्पेसएक्सले गत वर्ष १८.६ अर्ब डलर आम्दानी गरे पनि ४.९ अर्ब डलर खुद घाटा व्यहोरेको थियो । सिएनएनका अनुसार यस वर्षको पहिलो तीन महिनामा कम्पनीले ४.७ अर्ब डलर बिक्री गरे पनि ४.३ अर्ब डलर घाटामा रहेको छ ।

हाल कम्पनीसँग १०२ अर्ब डलर बराबरको सम्पत्ति र ६०.५ अर्ब डलर ऋण रहेको बताइएको छ । कृत्रिम बौद्धिकता र स्टारलिंक विस्तारमा ठूलो लगानीका कारण खर्च तीव्र रूपमा बढिरहेको छ । गत वर्ष कम्पनीले २०.७ अर्ब डलर खर्च गरेको थियो, जसको ठूलो हिस्सा एआई पूर्वाधार निर्माणमा गएको जनाइएको छ ।