काठमाडौं । बुधबार सामान्य अंकले सुधारिएको सेयर बजारमा बिहीबार फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले ओरालो लागेर २७६६ को बिन्दुमा ओर्लिएको हो । बिहीबारको कारोबारमा सुरुवाती उतारचढावका बीच साढे १२ बजेपछि बजारमा निरन्तर संकुचन देखिएको थियो ।
कारोबार रकममा पनि मन्दी
नेप्से परिसूचकमै गिरावट आएसँगै कारोबार रकममा समेत उल्लेख्य कमी आएको छ । बुधबार ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार उक्त रकम १ अर्बभन्दा धेरैले घटेर ४ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ ।
बिहीबार कुल ६३ वटा कम्पनीको सेयर मूल्यमा सुधार आउँदा १९८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सबैजसो समूह राताम्मे
बिहीबार बजारका सबै उपसूचकहरू ओरालो लागेका छन् । जसमा व्यापार समूहका लगानीकर्ताले सबैभन्दा धेरै १.७१ प्रतिशत गुमाएका छन् ।
यस्तै, बैंकिङ उपसूचक ०.०३, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल तथा पर्यटन १.०७, जलविद्युत ०.५१, लगानी ०.४६, जीवन बिमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बिमा १.२० तथा अन्य समूह ०.७५ प्रतिशतले घटेका छन् ।
कालिन्चोक हाइड्रोपावरको मूल्यमा उछाल
समग्र बजार घटे पनि कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६ र सेन्ट्रल फाइनान्सको मूल्य ४.७८ प्रतिशतले बढेको छ । बिहीबार मूल्य बढ्ने सूचीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका डिबेन्चर (ऋणपत्र) हरू अग्रस्थानमा देखिए ।
यता विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४.६९ प्रतिशत गुमाएका छन् । यसैगरी भगवती हाइड्रोपावरको ४.२७, आँखुखोला जलविद्युतको ४.०७ र होटल फरेस्ट इनको सेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ ।
यी कम्पनीको भयो धेरै कारोबार
बिहीबार एभरेस्ट बैंक डिबेन्चर ८६, आँखुखोला जलविद्युत, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, रिडी पावर तथा नेपाल इन्स्योरेन्सको सेयर सर्वाधिक खरिदबिक्री हुने सूचीमा परेका छन् ।