• Menu
s

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ७३ करोड पुग्दा निर्जीवन बिमातर्फ आकर्षण

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार १६:१९

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ७३ करोड पुग्दा निर्जीवन बिमातर्फ आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले उकालो लागेको छ। अघिल्लो कारोबार दिन २२.२१ अंकले बढेको बजार आज २.६६ अंकले सुधार हुँदै २,७८० अंकमा उक्लिएको हो।

दिनभर बजारमा मिश्रित प्रवृत्ति देखिएको थियो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार यो रकम बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

क्षेत्रगत रूपमा आज निर्जीवन बिमा समूह लगानीकर्ताको रोजाइमा परेको देखियो । उक्त समूहको सूचक ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च स्तरमा पुगेको छ।

यस्तै, जीवन बिमा समूह १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा विकास बैंक समूह ०.६६ प्रतिशतले उकालो लागेका छन्।

विपरीत रूपमा ‘अन्य’ समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ । यो समूह २.३६ प्रतिशतले घटेको छ। साथै व्यापार ०.२४ प्रतिशत, लगानी ०.२० प्रतिशत, जलविद्युत ०.११ प्रतिशत, फाइनान्स १.१६ प्रतिशत तथा बैंकिङ समूह ०.१३ प्रतिशतले ओरालो लागेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढेको छ। त्यसपछि एसबीएल डिबेन्चर २०८४ को मूल्य १४.९३ प्रतिशत, विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावरको ७.०५ प्रतिशत तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशतले वृद्धि भएको छ ।

यता, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत तथा त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले घटेका छन् ।