काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लगानीसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको शुक्रबार तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले लगानी मध्येबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको एक वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकले सर्कुलरमार्फत कार्यान्वयनमा ल्याउने कार्यकारी निर्देशक एवं बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु पौडेलले जानकारी दिए ।
कतिपय बैंकहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा छ । बैंकहरूले यसअघि एक आर्थिक वर्षमा सेयर बजारमा गरेको लगानीको १ प्रतिशतमात्रै बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको थियो । जसका कारण सेयर बजारमा रहेको लगानी बैंकहरुले बिक्री गर्न पाएका थिएनन् ।
नयाँ व्यवस्थापछि बैंकहरुले आफूसँग भएको सेयर बेच्न र बजारको अवस्था हेरेर खरिद गर्नसमेत सक्नेछन् । यसले बजारमा परिपक्व र संस्थागत लगानीलाई प्रोत्साहन गर्नेछ ।