• Menu

प्राइम कमर्सियल बैंक र इन्फो डेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार ०९:०६

प्राइम कमर्सियल बैंक र इन्फो डेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाडौँ । विगत २२ वर्षदेखि आईसीटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फो डेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फो डेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर-अटोमेटेड बजेटिङ सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ ।

प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रविण सुवेदीले हस्ताक्षर गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फो डेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ प्रक्रियालाई सहज बनाउँछ । यसले स्वचालित रुपमा त्रुटिहरुलाई कम गरी बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए ।

बैंक वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्‍याउने बजेट ३६० स्वचालित बजेटिङ प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्याङमा आधारित रहेर आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।

बजेट ३६० को कार्यान्वयनले बजेट निर्माण प्रक्रियामा सहजता, झन्झटरहित र प्रयोगकर्तामैत्री इन्टरफेसका साथ स्वचालित प्रक्रियामा वित्तीय अन्तरदृष्टि तथा रिपोर्टहरू प्रदान गर्न सयोग पुग्छ ।

त्यस्तै इन्फो डेभलपर्सको उत्पादन बजेट ३६० को प्रयोगले नियमित अनुगमन र कार्यान्वयनमा समेत सहयोग पुर्‍याउने विश्वास बैंकका महाप्रबन्धक श्रेष्ठको छ ।

सन् २००२ मा स्थापना भएको इन्फो डेभलपर्स सहकारी, बैंक तथा वित्तीय संस्थाहरूको लागि कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, स्वचालित कार्य सञ्चालन प्रणाली, बजेट ३६०, रिकन्सिलेसन सिस्टम,  मानव संसाधन विकास प्रणालीलगायतका सफ्टवेयर तथा प्रोडक्टहरू विकास गर्ने अग्रणी फिनटेक कम्पनी हो ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न प्रोडक्ट परियोजना र सेवा दिने इन्फो डेभलपर्समा हाल ३५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।