• Menu

गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा होइन, एमालेको पालामा भएको हो : देउवा

नेपाल प्रफिट

२०८१ जेठ ३, १३:३७

गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा होइन, एमालेको पालामा भएको हो : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको २६औँ साधारणसभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा बिहीबार उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।

सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे । ‘योगप्रसादजी पुरानोमात्र होइन, राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकोमा खुसी लागेको छ,’ उनले भने ।

देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताए । ‘कांग्रेसलाई दोष लगाउन मिल्दैन,’ उनले भने ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताए । ‘राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन,’ उनले भने ।

उनले मुलुक जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए । नेता कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने तर्क गरे ।

अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको उनले बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ छ ।

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौँ सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न कांग्रेसले संसदीय समितिको माग गरेको बताए । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको स्मरण गराउँदै उनले संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने स्पष्ट पारे ।

कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे । सुशासन र  भ्रष्टाचार अन्त्यको विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।

संविधानविद् डा. भीमार्जुन आचार्यले सन् २०२३ को तथ्यांकले संविधान कार्यान्वयनमा हेर्दा नेपाल विश्वको ७१औँ स्थानमा देखाएको बताए । ‘संविधानलाई धेरै हेरफेर गर्‍यो भने त्यो मुलुकमा कहिल्यै स्थायित्व हुँदैन,’ उनले भने । आचार्यले अदालतभित्र पार्टीबाट छानेर पठाएका व्यक्ति हुँदा लोकतन्त्र कमजोर हुँदै गएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गरिएको छ । उनलाई नगद २५ हजार र ताम्रपत्रद्वारा सम्मानित गरिएको हो ।

२०५२ सालमा स्थापना भएको प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक संस्कार र पद्धतिलाई बलियो बनाउँदै अगाडि बढिरहेको समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले बताए ।