• Menu

दक्षिण कोरिया पठाउने भन्दै अवैध ढंगले उठाएको पैसा धमाधम फिर्ता

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १०:०७

दक्षिण कोरिया पठाउने भन्दै अवैध ढंगले उठाएको पैसा धमाधम फिर्ता

काठमाडौं । दक्षिण कोरिया पठाइदिन्छु भन्दै झापा र इलामका युवाबाट अवैध ढंगले पैसा उठाउनेहरुले धमाधम फिर्ता गर्न थालेका छन् । कोरिया पठाइदिन्छु भन्दै फर्जी तालिम दिएर २०८० असोजमा युवाबाट पैसा उठाएकाहरुले सञ्चारमाध्यममा समाचार आएपछि धमाधम फिर्ता गर्न थालेका हुन् ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह थेबेले झापाका कुलप्रसाद उप्रेतीको पैसा शुक्रबार फिर्ता गरेका छन् ।

भुपेन्द्रसिंह थेबेले कोरिया पठाइदिन्छु भनेर २०८० असोज ८ गते उप्रेतीबाट ५ लाख लिएका थिए । दुई लाख रुपैयाँ शुक्रबार मध्यरातमा फिर्ता पाएको उप्रेतीले बताएका छन् । पैसा दिएको लामो समयसम्म पनि कोरिया जान नपाएपछि फिर्ता माग्दा उनीहरुले उल्टै धम्क्याउँदै आएका थिए ।

इलामकै ज्ञानु दाहालले पनि पैसा फिर्ता पाइसकेको जनकारी दिए । त्यस्तै इलामका राजेन्द्र निरौलाले सालो नाता पर्ने प्रकाश भट्टराईबाट कारोबार गरेका थिए । निरौलाले केही पैसा फिर्ता पाइसकेको र केही पाउन बाँकी रहेको बताएका छन् ।

त्यस्तै ताप्लेजुङका मोहन थेबे र याम सुब्बाको पैसा फिर्ता दिन पनि उनीहरु तयार भएका छन् । दक्षिण कोरिया अवैध ढंगले पठाउन लागेको थाहा पाएपछि अरु युवाले पनि पैसा फिर्ता माग्न थालेका छन् ।

एक जना युवाबाट कम्तीमा १५ लिएर उनीहरुले दक्षिण कोरिया पठाइदिने भन्दै फर्जी तालिम दिएर पहिलो चरणमा ३ देखि ५ लाख रुपैयाँसम्म उठाएका थिए । कतिपयले नातेदारलाई नै कोरिया पठाउने नाममा अवैध सञ्जालमा धकेलेपछि इलाममा चर्को विरोध भइरहेको छ । ‘कमिसन आउने भएपछि आफ्ना आफन्त केही नभनी त्यो पनि अवैध ढंगले विदेश पठाउन उत्साहित हुनु राम्रो होइन,’ एक युवाले भने ।

कोरिया पठाइदिने भन्दै नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सभापति डिकेन्द्र इदिङ्गो, नेविसंघका केन्द्रीय सदस्य थेबे, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका स्वकीय सचिव एवं कांग्रेसका इलाम जिल्ला सदस्य प्रकाश भट्टराई, इलामकै सुरेन राईलगायतले युवाबाट पैसा उठाएका थिए ।

युवालाई कोरिया पठाउने भन्दै काठमाडौं, बिर्तामोड र इलाममै विभिन्न तालिम सञ्चालन गरिएको थियो । तालिममा ४ सयभन्दा बढी युवा सहभागी भएका थिए । २०८० भदौमा १० दिनको आर्क वाइल्डर एड्भान्स कोर्स सहभागी गराइएका केही युवालाई २०७२ र ७४ साल लेखेर ६ महिना अवधिको प्रमाणपत्र दिइएको छ । नक्कली प्रमाण पत्रसम्बन्धी बाहिर जानसक्नेतर्फ सजग हुँदै उनीहरुले अधिकांश युवालाई प्रमाणपत्र नै दिएका छैनन् ।

यससम्बन्धमा नेपाल प्रफिटले लगातार समाचार सम्प्रेषण गरेपछि सम्पादकलाई ज्यान मार्ने धम्कीसमेत आएको थियो । युवालाई अवैध ढंगले कोरिया पठाउन पैसा उठाएको जानकारी पाएपछि श्रम मन्त्रालयले समेत सूचना जारी गरी घटनामा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । त्यस्तै प्रहरीले पनि अवैध ढंगले कोरिया पठाएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।