रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा उनीहरुलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद (२० वर्ष)को सजाय पाएका छन् ।
अभियुक्त मुक्ति साहले भने सफाइ पाएका छन् । मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ ।
पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।