काठमाडौँ । प्रमुख सत्ताघटक नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई नयाँ बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए ।
अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए ।
उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको अवस्थामा कसैले चाहँदैमा सरकार नढल्ने स्पष्ट पारे । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले बताए ।
‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसले दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो,’ उनले भने ।
संसदमा कसैको पनि एकल बहुमत नभएको अवस्थामा यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ, त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण आफूले नदेखेको उनले बताए । ‘त्यसकारण ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ,’ पौडेलले भने ।