काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।
विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनःस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।