काठमाडौँ । नेकपा एमालेको ललितपुरमा आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको छ ।
बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो । बैठकले फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीबीच बनेको नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गरेको छ । सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
‘पाँच दलले जारी गरेको न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्पले आजका मुख्य समस्यालाई सम्बोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।
अहिलेको सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई एमालले आह्वान गरेको छ ।
पारित प्रस्तावमा केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्य सञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरुको भयावह स्खलनका कारण समाजमा चौतर्फी निराशा बढेको उल्लेख छ ।
रोजगारीको अभाव र भविष्यप्रतिको अन्यौलले युवाहरुको विदेश गमन बढेकाले यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षाको मार्गमा थप चुनौती पैदा गरेको निचोड बैठकले निकालेको छ ।
बैठकले आर्थिक शिथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नु परेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरुमा यो देश बन्छ र देश हामीले नै बनाउँछौँ भन्ने सकारात्मक ऊर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गरेको छ ।
यस्तै भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै संक्रमित तुल्याएको एमालेले जनाएको छ ।
भ्रष्टहरु दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको जनाउँदै बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गरेको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियानमा पार्टी बिनामोलाहिजा प्रस्तुत हुने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
सहकारी र लघुवित्तका ऋणी समस्यामा परेको तथा मिटरब्याज पीडितका समस्या पूर्णरुपले समाधान नभएकाले बैठकले केही सहकारीमा पैदा भएका यस प्रकारका समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरिएको छ ।
पारित प्रस्तावमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेकाले दैनिक ज्यालादारी गरेर खानुपर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट प्रभावित भएको उल्लेख छ ।
नियोजित ढंगले बढाइएको महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तु र सेवामा रहेको एकाधिकार अन्त्य गर्न र सुलभ पसललगायतका माध्यमबाट सर्वसाधारण नागरिकलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार भएकालाई जिताउन पनि बैठकमा आग्रह गरिएको छ । बैठकले हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा, कैलालीलगायत जिल्लामा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गरेको छ ।
एमालेले विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
बैठकबाट रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय संकट बढाइरहेको, खाद्यान्न तथा इन्धनको आपूर्ति शृंखलामा असर पारेको, विश्व अर्थतन्त्रमै प्रतिकूल प्रभाव बढेको तथा क्षेत्रीय द्वन्द्वको जोखिमसमेत बढाएकोमा चासो व्यक्त गरेको छ ।
तत्काल युद्धविराम गर्दै युद्धको अन्त्य गर्न, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन एमालेले माग गरेको छ ।
सो युद्धमा विभिन्न कारणले नेपाली युवासमेत फस्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भई युद्ध मैदानमा पुगेका युवालाई कूटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाको बन्धक बनेकालाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गरिएको छ ।
हमास लडाकु र इजरायलबीचको आक्रमण र प्रत्याक्रमणमा संयुक्त राष्ट्र संघका सहायताकर्मीको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएकाले तथा गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय संकटमा डुबेकाले क्षेत्रीय युद्धको आशंका बढेकामा एमालेले चिन्ता व्यक्त गरेको छ ।
‘हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतंकवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनुपर्छ भन्ने संयुक्त राष्ट्र संघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गर्छौं,’ एमालेको प्रस्तावमा भनिएको छ ।
त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धक रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृंखला तत्काल अन्त्य गर्न एमालेले माग गरेको छ ।
बैठकले म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकबद्धता प्रकट गर्दै म्यानमारमा लोकतन्त्रको तत्काल पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ ।
प्रतिवेदनहरु सर्वसम्मत पारित
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पारित भएका छन् ।
बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने दोस्रो दिन ६ वटा समूहमा प्रतिवेदन र पार्टीको संगठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरी सुझाव संकलन गरिएको थियो ।
आइतबारको बैठकमा पार्टीले सम्पन्न गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ विशेषका रूपमा प्रकाशित ‘नवयुग’ विशेष अंक र सोही यात्राका महत्वपूर्ण तस्वीरहरूको संगालो ‘मुहार फेर्ने यात्रा’ विमोचन गरिएको थियो ।
दोस्रो दिनको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न योजनाबद्ध ढंगले अगाडि बढाउन जरुरी रहेको बताए । उनले परिषद् बैठकका निर्णय, निष्कर्ष र पारित प्रस्तावका आधारमा पार्टी अगाडि बढ्ने उद्घोष गरे ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal