• Menu

डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ : श्रममन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख ९, २१:०६

डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् ।

मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’सम्बन्धी छलफलमा उनले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।’

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको हो ।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए ।

मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।

उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् ।

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेला आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवर्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्न बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए ।

छलफलमा नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, नेपाल होटल संघका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए ।