काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १ अर्ब ५ करोड रुपैयाँले घटेको हो ।
गत वर्षको साउनदेखि चैतसम्मको ९ महिनामा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ३० करोड रुपैयाँमात्र कमाएको छ । समीक्षा अवधिमा बैंकको नाफा २४.१३ प्रतिशतले घटेको हो ।
बैंकको ब्याज आम्दानी भने बढेको छ । चालु आवको चैतसम्ममा बैंकले १३ अर्ब २ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको गत वर्षको ९ महिनाको ब्याज आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ थियो । ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब २३ करोड रुपैयाँले बढेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी ३५.५९ प्रतिशत बढेको छ । बैंकको खुद शुल्क तथा कमिसन यो अवधिमा १ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७१ करोड रुपैयाँबाट बढेर समीक्षा अवधिमा ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जसका कारण कम्पनीको सञ्चालन नाफा २२.२८ प्रतिशत घटेको छ । बैंकको सञ्चालन नाफा ४ अर्ब ७१ करोड रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा ६ अर्ब ६ करोड रुपैयाँ थियो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा रहेकोमा चालु आवको ९ महिनासम्ममा घटेर १२ रुपैयाँ २० पैसामा सीमित भएको छ ।
बैंकले चालु आवको चैतसम्ममा ४ खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ भने तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा २२ अर्ब ४३ करोडभन्दा बढी सञ्चित गरेको छ । नौ महिनासम्ममा सवा ३ अर्बभन्दा बढी खुद नाफा कमाए पनि बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९१ गुणा र तरलता अनुपात ३२.७१ प्रतिशत छ ।
बैंकको खराब कर्जा झन् बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ३.९६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा ४.७४ प्रतिशत पुगेको हो । बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा छ ।