काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेसनल (आईएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ ।
सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच विस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए ।
जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिस्टर गरी त्यसबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ । आफूले पठाउने पैसा भुक्तानी गर्न लसोन कार्डको व्यवस्थालगायत ग्राहक सन्तुष्टिका लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवासहित आफ्नो स्तरवृद्धि गर्दै गएको छ ।
अब जेएमई मोबाइल एप रजिस्टर गरी सो एपबाट आफूले चाहेको जुनसुकै देशमा जुनसुकै समयमा पैसा पठाउन सकिनेछ । ग्राहकले सेवा शुल्कबिनै पैसा पठाउन सकिने, प्वाइन्ट्स प्रयोग गरी सेवा शुल्क घटाउन सकिने विशेषता थप गरेको छ ।
जापान मनी एक्सप्रेस कम्पनी जापानमा रहेका नेपालीद्वारा सञ्चालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले १४ वर्षदेखि जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गर्दै आएको छ ।
हालसम्म जापान मनी एक्सप्रेसले मनिग्राम इन्टरनेसनल आईएनसी लगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा विप्रेषण कम्पनीसँग रेमिट्यान्ससम्बन्धी काम गर्दै आइरहेको पनि गुरुङले जानकारी दिए ।
कम्पनीले नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलियामा सहजै पैसा पठाउन सकिने बताएको छ ।