• Menu

नेपाल उद्योग परिसंघको २१औँ वार्षिकोत्सव

अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरिरहन्छ, आगामी वर्ष आशालाग्दो वर्ष हुनेछ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख ४, २०:२८

अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरिरहन्छ, आगामी वर्ष आशालाग्दो वर्ष हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ उनले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट छु, अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।’

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सबलीकरणमात्रै नभई देखिनेगरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको जिकिर गरे ।

‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ उनले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिसमेत अगाडि बढाउनेछौँ, अर्थतन्त्रमा सुधारमात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी छ, त्यसो गरिन्छ ।’

निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उनले बताए । ‘निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो, अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ,’ उनले भने ।

अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखापर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे ।

‘नयाँ वर्षको सुरूवातमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ, विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि १२ भन्दाबढी कानुन संशोधन प्रक्रियामा छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।’

वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे ।

पर्यटन आगमनमा उल्लेख्य सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएकाले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने उनले बताए ।