काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु हुँदै छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा दुईदिने सम्मेलन हुन लागेको हो ।
आईक्यानले मंगलबार पत्रकार भेटघाट आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ ।
सम्मेलनमा एक हजारभन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसन फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी)का अध्यक्ष अस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीले अन्तर्राष्ट्रिय नियामक निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय भएको बताए ।
नेपालले लेखा व्यवसायमा भित्र्याएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीनवटा छलफल सत्र हुनेछन् । त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दिगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन र व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल हुनेछ ।
आईक्यानले नेपालमा सीए शिक्षाको विकास र यसका सदस्यहरुको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीहरुका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आईक्यानले सम्मेलनका दौरान यो विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएको छ ।
लेखा व्यवसायीहरुको कामको न्यूनतम शुल्क तोक्ने, कम शुल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताए ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव रामप्रसाद घिमिरे, एक्यानका अध्यक्ष दीपक पाण्डे, अडानका अध्यक्ष केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीईओ तथा वरिष्ठ सीएहरु सहभागी हुनेछन् ।
त्यस्तै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण विभाग, सहकारी विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधिसमेतको सहभागितामा नियमनबारे छलफल गरिने भएको छ ।
आईक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।