• Menu

राजदूत अन्सारी भन्छन्- कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान छ

नेपाल प्रफिट

२०८१ वैशाख ४, १६:२४

राजदूत अन्सारी भन्छन्- कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान छ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग नेपालका लागि कतारका राजदूत मिसाल विन मोहम्मद एल एई अन्सारीले शिष्टाचार भेट गरेका छन् ।

भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौं,’ मन्त्रालयमा भएको भेटमा उनले भने, ‘त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरुको सहयोगको अपेक्षा गर्छौं ।’

त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मन्त्री अर्यालले धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ, जुन प्रशंसनीय छ,’ उनले भने ।

भेटमा राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उनको भनाइ छ ।

त्यसैले नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधैं तयार रहेको उनले स्पष्ट पारे । ‘नेपाली श्रमिकको सीप विकासका लागि के-के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस्, हामी सबै खालको सहयोग गर्न तयार छौं,’ उनले भने ।

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको छ ।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन्, जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ ।