• Menu

आठ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

नेपाल प्रफिट

२०८१ वैशाख ३, २३:४९

आठ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

भक्तपुर । नयाँ वर्ष २०८१ सालका अवसरमा भक्तपुरमा गत चैत २२ गतेदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०/८१’ को सम्पन्न भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सवमा आठ करोडको कारोबार गर्दै महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मानवीय दैनिक जीवनमा अत्यावश्यक पर्ने सम्पूर्ण सामान एकै ठाउँमा पाइने गरी आयोजना गरेको महोत्सवमा करिब दुई लाख उपभोक्ताले अवलोकन गरी महोत्सवबाट लाभ लिएको उनले बताए ।

स्थानीय उत्पादनदेखि देश विदेशका सामानलाई सुपथ मूल्यमा उपलब्ध गराएको भन्दै उनले १५० स्टल रहेको महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानलगायत स्टलबाट उपभोक्ताले लाभ लिएको बताए ।

महोत्सवमा कृषि तथा हस्तकलाका सामग्रीहरू, भाँडाकुँडाका सामग्रीहरू, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने जानकारी दिँदै उनले बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिएको मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।

महोत्सवमा फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, भक्तपुरको मौलिक उत्पादनका प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा एसियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादू, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्यव्यङ्गयसहितका मनोरञ्जनात्मक प्रस्तुति समेत रहने उनले बताए ।

यही वैशाख ३ गते आज नेपाली भाषी भारतीय गायक विपुल क्षत्रीको लाइभ कन्सर्टको समेत आयोजना गरिएको मेला आयोजक संस्थाका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए । हरेक दिन ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको आज कन्सर्ट गरेर मनोरञ्जन प्रदान गरेको उजले बताए ।