• Menu

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आइतबारदेखि अधिवेशन अन्त्य

नेपाल प्रफिट

२०८१ वैशाख २, १४:०२

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आइतबारदेखि अधिवेशन अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त त्यससम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए । बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराएका छन् ।

चालु अधिवेशन माघ २ देखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको छ ।

अधिवेशनमा अनुगमन तथा मूल्यांकन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।

आइतबारको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए ।

उनले आजका लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए । उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।