नयाँ वर्ष २०८१ मा नयाँ ढंगले व्यवसाय विस्तार गर्ने अथवा भएकै व्यवसायमा लगानी थपेर फैलाउने सोचमा हुनुहुन्छ भने बैंकहरुको आधार दर एकल अंकमा झरेको खबरले पक्कै तपाईंलाई खुसी बनाउन सक्छ । वैशाखका लागि बैंकहरुले आधार दर घटाएर ब्याज उपहार दिएका छन् ।
नयाँ वर्ष २०८१ को वैशाखका लागि वाणिज्य बैंकहरुको औसत आधार दर ८.८५ प्रतिशतमा झरेको छ । असारको तुलनामा आधार दर १.२२ प्रतिशत विन्दुले झरेको हो । असारमा बैंकहरुको औसत आधार दर १०.०७ प्रतिशत थियो ।
अहिले सबै बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी हिमालयन बैंकको ९.८५ प्रतिशत छ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्डर्ड बैंकको ७.२९ प्रतिशत छ ।
आधार दर नौ वटा बैंकको ९ देखि १० प्रतिशतको बीचमा, नौ वटै बैंकको ८ देखि ९ प्रतिशतको बीचमा र दुई वटा बैंकको ८ प्रतिशतभन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ ।
बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जा दिने गर्छन् । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुले अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्न सक्छन् ।
त्यस हिसाबले कर्जा लिँदा सबैभन्दा महँगो ब्याज हिमालयन बैंकमा १४.८५ प्रतिशतसम्म पर्नेछ भने स्ट्यान्डर्ड चार्टर्डमा १२.२९ प्रतिशतसम्म पर्नेछ ।
तर, बैंकहरुले अहिले आधार दरमा १ देखि २ प्रतिशतसम्म मात्र प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका छन् । हिमालयन बैंकका एक शाखा प्रबन्धकले अहिले घर कर्जा १० प्रतिशतभन्दा कम ब्याजदरमै प्रवाह गरिरहेको बताए ।
त्यस्तै एभरेस्ट बैंकका एक शाखा प्रबन्धकले पनि आधार दरमा १ प्रतिशतमात्र प्रिमियम थपेर कर्जा दिइरहेको बताए ।
‘हामीले सिमेन्ट, रड, बालुवा, गिटी, इँटालगायतका सबैखाले व्यापार होस् र अहिलेको अवस्थामा बजार चलायमान हुन सहयोग पुगोस् भन्ने हेतुले निकै कम प्रिमियम जोडेर घर कर्जा प्रवाह गरिरहेका छौं,’ ती शाखा प्रबन्धकले भने ।
ग्लोबल आईएमई बैंकका एक शाखा प्रबन्धकले पनि आधार दरमा १.५ प्रतिशतमात्र प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको बताएका छन् ।
नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सरकारले पुँजीगत खर्च बढाउन नसक्दा कर्जाको विस्तार सोचेअनुरुप हुन नसकेको बताउँछन् । बैंकहरुले अहिले घर कर्जा र विद्युतीय सवारी साधनलाई निकै सस्तो दरमा कर्जा उपलब्ध गराइरहेको उनले बताए ।
‘अहिलेको अवस्थामा बजार चलायमान गराउन सहयोग पुगोस् भनेर हामीले घर कर्जा र विद्युतीय सवारीलाई प्राथमिकतामा राखेका हौं,’ संघका अध्यक्ष सुनिल केसीले भने, ‘ब्याजदर लगातार घटिरहेको छ, अझै घट्छ, सरकारले नीतिगत रुपमा वातावरण बनाउने प्रयास गर्यो भने अब चलायमान हुने विश्वास छ ।’
अहिले वित्तीय प्रणालीमा करिब ५ खर्ब लगानीयोग्य रकम छ । कर्जाको माग बढ्न नसक्दा कर्जा निक्षेप अनुपात ८० प्रतिशत हाराहारीमा झरेको छ ।
असारदेखि चैत २६ सम्ममा जम्मा २ खर्ब १५ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो भनेको ४ प्रतिशतभन्दा केही बढी मात्र कर्जाको वृद्धिदर हो ।
कर्जाको माघ निकै सुस्ताएर तरलता थुप्रिएपछि बैंकहरुले ऋणीलाई आकर्षित गर्न बैंकहरुले विभिन्न स्किम पनि ल्याउन थालेका छन् ।
