काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपमा २ वटाले ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् । पाँच बैंकको ब्याजदर स्थिर छ ।
एनएमबी बैंकले चैतमा भन्दा वैशाखमा ०.९७ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज बढाएर ७ प्रतिशतबाट ७.९७ प्रतिशत पुर्याएको छ । त्यस्तै एभरेस्ट बैंकले पनि ६.५ प्रतिशतबाट ०.५ प्रतिशत विन्दुले बढाएर ७ प्रतिशत पुर्याएको छ ।
कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल र हिमालयन बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी सबै बैंकले ब्याजदर घटाएका छन् ।
चैतको तुलनामा वैशाखमा बैंकको ब्याजदर औसतमा ०.१८ प्रतिशत बिन्दुले घटेको छ । चैतमा बैंकको औसतमा ब्याजदर ७.२५ प्रतिशत रहेकोमा वैशाखका लागि ७.०७ प्रतिशतमा झरेको हो । निक्षेपको ब्याज घटेपछि कर्जाको पनि ब्याज घट्छ ।
ब्याजदर लगातार घटे पनि कर्जाको माग भने बढेको छैन । माघदेखि कर्जाको माग अत्यन्तै सुस्त भएको छ । साउनदेखि माघसम्ममा २ खर्ब रुपैयाँ हाराहारी कर्जा प्रवाह भएको थियो ।
त्यसयता करिब ५ अर्बमात्र कर्जा गएको नेपाल नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो वर्ष राष्ट्र बैंकले कर्जा वृद्धिदर लक्ष्य ११.५ प्रतिशत राखे पनि चैतसम्ममा ४ प्रतिशत हाराहारीमात्र छ ।
ब्याजदर घटेर एकल अंकमा झरेकाले सरकारले लगानीको वातावरण बनायो र समग्र माग बढ्यो भने कर्जाको माग पनि बढ्ने अर्थविद्हरु बताउँछन् । तर, अहिलेकै अवस्थामा भने उद्योगी व्यवसायीको मनोबल बढ्न नसकेकाले कर्जाको माग नबढ्ने उनीहरुको टिप्पणी छ ।
