• Menu

सीआईआईका प्रतिनिधिलाई प्रधानमन्त्रीले भने- विदेशी लगानीकर्तालाई सबै खालको सहजीकरण गर्छौं

नेपाल प्रफिट

२०८० चैत २९, १९:०६

सीआईआईका प्रतिनिधिलाई प्रधानमन्त्रीले भने- विदेशी लगानीकर्तालाई सबै खालको सहजीकरण गर्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघ (सीआईआई)का प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरु र कार्यकारी सदस्यहरुको पनि उपस्थिति थियो ।

भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए । उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे ।

अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्धनका लागि आफूले क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए । त्यसैगरी, उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए ।

महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए । प्रतिनिधिमण्डलमा भारतका ६ ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृतसमेत सहभागी थिए ।

भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताए । उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेकाले नेपाल सरकारसँग सहजीकरणको माग गरे ।

यसैबीच, महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको एफडीआई हेल्प डेस्कमार्फत आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी छ । दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए ।