• Menu

कांग्रेसले गठबन्धन फेरिएपछि रविजीको विषयलाई राजनीतिक मुद्दा बनाएको हो : प्रचण्ड

नेपाल प्रफिट

२०८० चैत २९, १०:३४

कांग्रेसले गठबन्धन फेरिएपछि रविजीको विषयलाई राजनीतिक मुद्दा बनाएको हो : प्रचण्ड

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।

विराटनगरमा बिहीबार स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताएका हुन् ।

सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको विषय अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,’ प्रधानमन्त्रीले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

प्रतिपक्षी दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाएको उनले बताए । ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,’ उनले भने ।

पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने उनले स्पष्ट पारे ।