कास्की । पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बुधबारदेखि सावर बन्जीको सुरुवात गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बन्जी पनि सञ्चालनमा ल्याएको हो ।
संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले हाइग्राउन्ड एड्भेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको बताए ।
‘सुरुमा जिपलाइनमात्रै रहेकोमा विस्तारै बन्जी, स्विङ र एटीभीलगायतका प्रडक्ट थपिएको हो,’ उनले भने, ‘साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुर्याएको छ ।’
सावर बन्जी नेपालको पहिलो र एकमात्र भएको दाबी गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताए ।
उनका अनुसार बन्जीका क्रममा ८२ मिटर माथिबाट हाम फालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् । यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार पाँच सय रुपैयाँ तिर्नुपर्नेछ ।
यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ । एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बन्जीको अनुभव दिलाउन सकिने उनले बताए ।
हाइग्राउन्ड एड्भेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरका छन् । सावर बन्जी सञ्चालन गर्नमात्र थप करिब ५० लाख रुपैयाँ लगानी गरेको कम्पनीले हालसम्म करिब ५० करोड खर्च भइसकेको जनाएको छ ।
पर्यटन राजधानी घोषणा भएको पोखरा साहसिक पर्यटनको पनि आकर्षक गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । पोखरामा पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बन्जी विशेष महत्वपूर्ण बन्ने अपेक्षा लिइएको उनले बताए ।
पर्यटनविज्ञ वासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले पर्यटन राजधानी घोषित पोखरामा पर्यटकको बसाइ लम्ब्याउन यसले सहयोग पुग्ने बताए ।