काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्नेमा कांग्रेस कहिले पनि दुबिधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा पूर्वअर्थमन्त्री महतले नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्ने बताए ।
‘२०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको शृंखला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो । निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको हो,’ उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात र निर्यातमा सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’
महतले आफूले अर्थमन्त्री भएपछि दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम गरेको दाबी गरे । ‘हामीले निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ,’ उनले भने ।
जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन र बजेटरी सिस्टममा चल्दैन, तबसम्म राज्य प्रभावकारी हुन नसक्ने महतले बताए । ‘राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ,’ उनले भने ।
यी कुरालाई नै मूलमन्त्र बनाएर नेपाली कांग्रेस पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएको उनले स्पष्ट पारे । ‘लगानीका अवरोध हटाउन निजी क्षेत्रका तीनवटै संगठनलाई सदस्य बनाएर के-कस्ता अप्ठ्यारा छन्, के-कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ ? भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरुलाई हस्ताक्षर गराएर अर्थ मन्त्रालयको तहबाट कानुन संशोधनका लागि मन्त्रिपरिषद्मा पुर्याएको हो,’ उनले भने, ‘त्यही कुरालाई कानुनी रुप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो ।’
महतले वितरणमुखी बाटोमा जाने, निजी क्षेत्रसँग सहकार्य मौखिक रुपमा गर्ने र व्यवहारमा उल्टो गर्ने काम भयो भने जुन सुधार, प्रगति र शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रँदै थियो, त्यो लय भंग हुने खतरा देखेको बताए ।
‘गठबन्धन परिवर्तन गर्नुभएका प्रधानमन्त्रीज्यूले यी सबै प्रगति र उपलब्धि मेरो नेतृत्वमा भयो तर त्यो उपलब्धिबाट म खुसी हुन सकिन, त्यति उपलब्धिबाट मलाई चित्त बुझेन, त्यसकारण गठबन्धन परिवर्तन गरेको हुँ भन्नुभएको छ,’ महतले भने, ‘धेरै मेहनत र अनुशासनमा रहेर आफू पनि उदाहरण बनेर जुन काम हामीले प्रारम्भ गरेका थियौं, यो कामलाई निरन्तरता दिन चुनौतीपूर्ण हुने देखिएको छ । दुई महिनाअघि १० प्रतिशतले वृद्धि भइरहेको राजस्व ७ प्रतिशतमा झरिसक्यो ।’