• Menu

नेतृत्व छान्न इलाम २ का मतदाता उत्साहित, कसले मार्ला बाजी ?

नेपाल प्रफिट

२०८० चैत २६, १२:४६

नेतृत्व छान्न इलाम २ का मतदाता उत्साहित, कसले मार्ला बाजी ?

इलाम । इलाम नगरपालिका-८ महमाईका कुबेर राईलाई उपनिर्वाचनको चहलपहलले उत्साहित बनाएको छ ।

‘सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या संघीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ,’ उनले भने, ‘हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।

यस्तै सन्दकपुर गाउँपालिका-३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि संकलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताए ।

‘अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै हुनुहुन्छ । हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्,’ उनले भने, ‘हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।’

फाकफोकथुम गाउँपालिका-४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेको बताए ।

‘सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

वैशाख १५ गते हुने उपनिर्वाचनबाट जनप्रतिनिधि चयन गर्न इलाम क्षेत्र नम्बर २ का मतदाता निकै उत्साहित देखिएका छन् । भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा एकीकृत माओवादीका साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू चुनावी मैदानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहानले पनि उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, स्वतन्त्र उम्मेद्वारहरु डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल छन् । मैदानमा २० उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का र रास्वपाका मिलन लिम्बूबीच हुने अनुमान गरिएको छ ।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र छन् । यी केन्द्रमा ८९४ कर्मचारी परिचालन हुनेछन् ।

निर्वाचन आयोगका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान हुनेछ । चैत २८ देखि वैशाख १२ सम्म प्रचारको अवधि तोकिएको छ ।