काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले कर्जाको माग नबढ्नुको कारण ब्याजदर होइन भन्ने अहिले आएर पुष्टि भएको बताएका छन् ।
गत वर्षको फागुनमा कर्जाको भारित औसत ब्याजदर हालसम्मकै उच्च १३.०३ प्रतिशत रहेकोमा अहिले २४ महिनायताकै न्यून विन्दु १०.७८ प्रतिशतमा झरेको तर कर्जा प्रवाह नभएको दृष्टान्त पेस गर्दै उनले कर्जा प्रवाह नहुनुको कारण अर्थतन्त्रमा आएको सुस्तता भएको बताए ।
‘विगतमा उच्च ब्याजदरलाई कर्जा प्रवाह हुन नसक्नुको कारण भनियो, हामीले असहमति जनाइरह्यौं,’ संघले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रियामा उनले भने, ‘अहिले आएर पुष्टि भयो, ब्याजदर कर्जा प्रवाह हुन नसक्नुको कारण होइन, अर्थतन्त्रमा सुस्तता आउँदा र उद्योगी व्यवसायीमा विश्वास नबढ्दा कर्जाको माग नभएको हो ।’
सरकारले स्थानीय तहको १ खर्ब पैसालाई निक्षेपमा गणना गर्न नदिँदा पनि अहिले बैंक वित्तीय संस्थामा करिब ४ खर्ब लगानी योग्य रकम रहेको उनले बताए । ‘सरकारले लगानीको वातावरण बनाउने हो भने हामी कर्जा प्रवाहका लागि तयार छौं,’ अध्यक्ष केसीले भने, ‘तर कर्जाको माग नै छैन ।’
कर्जाको माग नहुनुको मुख्य कारण पुँजीकोष नभएको उनले बताए । ‘१२–१३ वटा बैंकको पुँजीकोष टाइट छ तर बाँकी बैंक त सहज अवस्थामा छन् नि,’ उनले प्रश्न गरे, ‘पुँजीकोष पर्याप्त भएका बैंकबाट चाहिँ किन कर्जा प्रवाह हुन सकेको छैन त ?’
अहिले बैंकिङ इन्डस्ट्रीको पुँजीकोष १२–१३ प्रतिशत हाराहारी भएकाले कर्जा माग भएको अवस्थामा प्रवाह गर्न सक्ने अवस्था रहेको उनले प्रस्ट पारे ।
अहिले बैंकहरुले अर्थतन्त्रलाई चलायमान गराउन सकिन्छ कि भनेर निकै प्रयास गरिरहेको उनको भनाइ छ । ‘सिमेन्ट, रड, बालुवा, इँटालगायतका सबै बस्तुको माग बढ्ने र त्यसले चहलपहल बढाउने भएकाले बैंकहरुले विभिन्न स्किमहरु नै ल्याएर घर कर्जा बढाउने प्रयास गरिरहेका छन्,’ अध्यक्ष केसीले भने, ‘तर ब्याजदर निकै एक विन्दु हाराहारीमा आइसक्दा घर कर्जा पनि खासै माग भएको छैन ।’
विश्वव्यापी रुपमा कर्जाको ब्याजदर घट्ने संकेत देखिएको र नेपालमा त निकै तल आइसकेकोले आगामी दिनमा ब्याजदर कुनै इस्यु नरहने उनले प्रस्ट पारे । ‘मूल कुरा कर्जाको माग बढ्नुपर्छ, सरकारले त्यो दिशामा काम गर्नुपर्छ,’ उनले भने, ‘लगानी गर्न हामी तयार छौं ।’
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए । उनले पनि उच्च ब्याजका कारण कर्जा प्रवाह नभएको भन्ने कुरामा असहमति जनाए । ‘आर्थिक चहलपहल नभएकै कारण यस्तो भएको हो,’ उनले भने ।
त्यस्तै संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले विश्व तथा नेपालको आर्थिक परिदृष्य र बैंकिङ सूचकहरुबारे जानकारी गराए । उनले बैंकिङ क्षेत्र सुधारोन्मुख रहेको र कालोसूचीमा परेकाहरुको संख्या घट्नुले पनि त्यसलाई स्पष्ट गर्ने बताए ।
‘अहिले बैंकिङ क्षेत्रबाट कालोसूचीमा पर्नेहरुको संख्या विगतमा भन्दा घटेको छ,’ उनले भने, ‘त्यसमा पनि ७० प्रतिशत चेक बाउन्सका घटनामा कालोसूचीमा पर्ने गरेका छन्, कर्जा नतिरेर कालोसूचीमा पर्ने ३० प्रतिशतमात्र छ ।’
२०८० फागुनसम्ममा कालोसूचीमा पर्नेको संख्या २६ हजार २३७ रहेको तथ्य उनले पेस गरे । ‘यो संख्या गत वर्षको भन्दा करिब ८ हजार कम हो,’ शर्माले भने ।