काठमाडौं । अर्थतन्त्रका बाह्य सूचक थप बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको वित्तीय विवरण अनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालु खातालगायत झन् सुदृढ देखिएको हो ।
फागुनमा उपभोक्ता मूल्यवृद्धि दर ४.८२ प्रतिशतमा झरेको छ । गत वर्षको फागुनमा ७.४४ प्रतिशत रहेको मूल्यवृद्धि यो फागुनमा २.६२ प्रतिशत विन्दुले खुम्चिएको हो ।
फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९५ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत र तरकारीको १४.०७ प्रतिशत छ ।
त्यस्तै दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको छ ।
विदेशी मुद्रा सञ्चिति १४ अर्ब १४ करोड डलर
आयातमा भएको संकुचन र रेमिट्यान्स आप्रवाहमा लगातारको वृद्धिले विदेशी विनिमय सञ्चित पौने १९ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनामा ३ खर्ब ३३ अर्ब ४६ करोडले बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा फागुन मसान्तमा १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा फागुन मसान्तमा २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।
मौद्रिक नीतिले चालु आर्थिक वर्षमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको ८ महिना सकिँदा एक वर्षभन्दा बढीको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै १४.८ महिनाको वस्तु आयात धान्न पर्याप्त रहनेछ ।
२०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु २८.२ प्रतिशत रहेका छन् ।
फागुनमा भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स
फागुनमा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनामा कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रषण आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको थियो ।
यस वर्ष श्रम स्वीकृति लिने कामदारको संख्या भने केही घटेको छ । फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८६ हजार ९३२ छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ छ ।
गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ थियो ।
शोधनान्तर बचत ३ खर्ब २७ अर्ब, चालु खाता बचत १ खर्ब ६७ अर्ब
फागुनमा चालु खाता बचत बढेको छ । फागुनसम्ममा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा थियो । माघमा रेमिट्यान्स १ खर्ब ६ अर्बमात्र भित्रिएपछि चालु खाता स्थिर भएको थियो । तर, फागुनमा रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता र शोधनान्तर बचत दुवै उल्लेख्य बढेको छ ।
चालु आवको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ४२ अर्बले बचतमा थियो ।
यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक छ । गत आवको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक थियो ।
विदेश पढ्न जाने विद्यार्थीसँगै बाहिरियो ८० अर्ब
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै ८ महिनाको अवधिमा ८० अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सेवा व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ छ । यसमध्ये ८० अर्ब शिक्षामा र भ्रमण व्ययमा ४२ अर्ब ६७ करोड रुपैयाँ बिदेसिएको हो ।
यस वर्ष सेवा व्यय गत वर्षको तुलनामा ४५.७ प्रतिशतले बढेको हो । गत वर्ष ८ महिनामा शिक्षा र भ्रमणमा जानेले ८४ अर्ब ३२ करोड रुपैयाँ विदेशी मुद्रा लगेका थिए । त्यसमध्ये विद्यार्थीले ५४ अर्ब ७० करोड रुपैयाँ लगेका थिए ।
पर्यटकबाट नेपालले गर्ने आयमा समेत यस वर्ष उल्लेख्य वृद्धि भएको छ । तर, शिक्षा र भ्रमण व्यय बढ्दा सेवा खाता भने घाटामै छ ।
यस वर्ष ८ महिनामा पर्यटकबाट नेपालले ५१ अर्ब ३९ करोड रुपैयाँ आय गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४२.१ प्रतिशत धेरै हो ।
गत वर्ष भ्रमण आय ३६ अर्ब १६ करोड थियो । ८ महिनामा सेवा खाता ४४ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । गत वर्ष सेवा खाता ५५ अर्ब ९१ करोडले घाटामा थियो ।
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal