काठमाडौं । सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध जेन-जीहरु देशैभर सडकमा उत्रिएका छन् ।
पोखरामा बिहानैदेखि परेको वर्षा बीच पनि युवाहरू सभाहलमा भेला भई विरोध प्रदर्शन थालेका थिए । सहभागीको संख्या क्रमशः बढ्दै गएको छ । नेताहरू ऐशआराममा रमाउँदा सामान्य जनता दुःखमा परेको भन्दै उनीहरूले सरकारविरुद्ध आक्रोश पोखेका छन् । ‘अब जनताको आवाज सुन्नैपर्छ’ भन्ने उनीहरूको माग हो ।
प्रदर्शनमा ‘जनता पसिना बगाउँदा, नेता विलासी गाडीमा रमाउँदा’, ‘भ्रष्टाचार बन्द गर, स्वतन्त्रता खोस्न पाइँदैन’, ‘भ्रष्ट नेताहरू होसियार’जस्ता नाराहरू गुन्जिएका थिए । माइतीघरबाट सुरु भएको जेन-जेजीहरुको जुलुस नारा लगाउँदै नयाँबानेश्वरतर्फ अघि बढेको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेन-जी पुस्ताले सडक प्रदर्शन गर्दै भ्रष्टाचार अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गरेका छन् । युवाहरूले प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोध जनाए ।
यस्तै, बुटवलमा पनि बिहानैदेखि युवाहरूले हातमा प्लेकार्डसहित प्रदर्शन गरे । ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेशमा पढ्छन्, जनता भने पसिनाले भिज्छन्’ जस्ता नाराले सडक गुन्जिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्को नाराबाजी लागेको छ ।
यसैबीच, राजधानी काठमाडौंको माइतीघरमा पनि निरन्तर प्रदर्शन भइरहेको छ भने अन्य सहरहरूमा पनि आन्दोलन विस्तार भइरहेको छ । सरकारले भदौ १९ गते देखि सामाजिक सञ्जालमा प्रतिबन्ध लागाएको थियो ।