काठमाडौं । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिक गरेपछि पहिलो एक दिवसीय अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ १५७ रनमा समेटिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको हो ।
आयरल्यान्ड ‘ए’का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए भने निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन जोडे । अन्य ब्याटरले बलियो स्कोर बनाउन सकेनन् ।
नेपालका कमलसिंह ऐरीले ६.३ ओभर बलिङ गर्दा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । ३९औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डिप मिडविकेटमा साहबबाट २ रनमा क्याच आउट गराएका उनले दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका छन् ।