• Menu

पेट्रोलको मूल्य ४ रुपैयाँ बढ्यो, अब १ लिटर पेट्रोललाई पर्छ १७५ रुपैयाँ

नेपाल प्रफिट

२०८० चैत १८, २१:१६

पेट्रोलको मूल्य ४ रुपैयाँ बढ्यो, अब १ लिटर पेट्रोललाई पर्छ १७५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

अब काठमाडौं उपत्यकासहित पोखरा र दिपालय क्षेत्रमा एक लिटर पेट्रोललाई १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र वीरगन्ज क्षेत्रमा १७२ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढेको हो । तर, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने परिर्वतन भएको छैन ।

भारतबाट भने पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा बढेर तथा डिजेल र मट्टितेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र एलपी ग्यासमा २७ रुपैयाँ ४४ पैसा घटेर आएको निगमले जनाएको छ । तर, अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निमग सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।